बुटवलको देवीनगर चोकदेखि रंगशाला जाने सडक निर्माण छिटो पूरा गर्न माग गर्दै स्थानीयले बुटवल उपमहानगरपालिक–११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
२०७४ सालमा काम सुरु भएको उक्त सडक निर्माणको काम अदालतमा मुद्दा परेपछि रोकिएको थियो । पछि २०७८ साउन २९ मा पुनः ठेक्का भएपनि कामै नभएको भन्दै दबाव दिन स्थानीयले तालाबन्दी गरेका हुन् । सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेपछि दबाव दिन तालाबन्दी गरेको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनुभयो ।
उक्त सडक छ करोड ४९ लाख २४ हजार रुपैयाँमा २०७९ साउन मसान्तमा पूरा गर्ने गरी रायमाझी निम कन्स्ट्रक्सन जेभी तिलोत्तमाले ठेक्का पाएको थियो । तर ठेकेदारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको भन्दै काम रोकेको थियो ।
करिब साढे ३ किलोमिटर लामो सडक भत्काएर अलपत्र पार्दा धुलो र पानी पर्दा हिलोका कारण सो खण्डमा बस्ने झण्डै २० हजार वडाबासीले दुई वर्षदेखि सास्ती खेपेका स्थानीय तेजु रानाले बताउनुभयो । साढे तीन किलोमिटरमध्ये साढे एक किलोमिटरमा नाली निर्माण भएको छ ।
सडकमा खाल्डा पर्दा पानी जमेर गाडी चलाउन मिल्ने अवस्था नभएको भन्दै रानाले धुलो र हिलोले दुर्घटनाको जोखिम भएको बताउनुभयो । सडकका खाल्डामा फोहोर पानी जम्मा भएर वस्ती नै दुर्गन्धित र प्रदुषित भएको बताइएको छ ।
डिभिजन कार्यालय बुटवलका प्रमुख होमबहादुर एसीले संघीय सरकारले उक्त सडक निर्माण आयोजनालाई प्रदेश सरकारलाई हस्तान्तरण गरेकाले आफूहरुले काम अघि बढाउन नसकेको बताउनुभयो । संघीय सरकारको चालु आर्थिक वर्षको वजेट वक्तव्यमा उक्त आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अब संघीय सरकारले शीर्षक प्रदेशमा गएपनि बजेटको दायित्व सडक विभागलाई दिए मात्र काम अघि बढ्ने अन्यथा ठेक्का तोड्नुपर्ने एसीले बताउनुभयो ।
© 2024, All right reserved to Radio Arpan 104.5
Web Design By Rijan Computers Contact: +977 9855080226, 9809823516