नेकपा एमालेले हिजो सोमबार सरकारबाट बाहिरिने निर्णय लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने मन्त्रालयको संख्या १६ पुगेको छ । यसअघि आठवटा मन्त्रालय सम्हालुभएका प्रचन्डको काँधमा हिजो एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै थप आठ मन्त्रालयसहित १६ वटा पुगेका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री गरी आठ वटा मन्त्रालयष्को जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले हिजो राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आईपुगेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोक्नुभएको हो । एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राप्रपाले छाडेका ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पनि प्रचण्डकै जिम्मामा छन् ।
प्रधानमन्त्री प्रचण्डले गत माघ ३ गते मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैँसँग राख्नुभएको थियो । ती मन्त्रालयसहित अहिले प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालय भएका छन् । अहिले सरकारमा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीमात्रै बाँकी रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डको काँधमा परेका मन्त्रालयको संख्या सोह्र पुग्यो