आउँदो चैत ५ मा चितवनका १४ क्याम्पसमा स्ववियु निर्वाचन हुने, निष्पक्ष गराउने विद्यार्थी संगठनको प्रतिबद्धता

अब आउँदो चैत ५ गते चितवनका १४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
उक्त निर्वाचन त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उक्त निर्वाचन चितवनको भरतपुरमा रहेका वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी क्याम्पस, मैयाँदेवी कन्या क्याम्पस, नारायणगढमा रहेको बालकुमारी क्याम्पस, माडीमा रहेको माडी क्याम्पस, पश्चिम चितवनको दिव्यनगरमा रहेको उमाबडी आदर्श क्याम्पस, पटिहानीको अमर जनशक्ति क्याम्पस, राप्तीको जनआदर्श क्याम्पस, खैरहनीको भुवानीशंकर, रत्ननगरको शहीद स्मृति, शारदानगरको शहीद स्मारक, गीतानगरको अरूणोदय, रामपुर कृषि क्याम्पस खैरहनी र चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा स्ववियु निर्वाचन हुने भएको छ ।
वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन पनि भइसकेको छ । वीरेन्द्र क्याम्पसका क्याम्पस विद्यार्थी कल्याण संघको संयोजक टीकाराम रिजालको संयोजकत्वमा प्रमुख १३ सदस्यीय स्ववियु निर्वाचन समिति गठन भएको छ । निर्वाचन समिति गठन भएको जानकारी त्रिविमा जानकारी गराइसकेको जनाइएको छ ।
सप्तगण्डकी क्याम्पसमा हिजो मंगलबार सात विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनलाई लिएर छलफल भएको थियो । आउँदो चैत ५ गतेको स्ववियु निर्वाचन सौहार्द वातावरणमा निष्पक्ष ढङ्गले सम्पन्न गर्ने प्रतिबद्धता विद्यार्थी संगठनहरुले गरेका छन् ।
त्रिविले फागुन १९ गते विद्यार्थी संघ÷संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी विरोध गर्ने समयसीमा निर्धारण गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार यहि फागुन २६ गते उमेदवारको मनोनयनपत्र वितरण हुनेछ । उमेदवारी दर्ताको मिति यहि फागुन २७ गते तोकेको छ । फागुन २८ गते उमेदवारको नामावलीमाथि दाबी विरोध रहनेछ । सोही दिन अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । त्रिविमा २८ वर्ष उमेरहद राखिएको छ । मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गराउन त्रिवि लागेको छ । स्ववियु निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दापछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।
स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष तथा बालकुमारी क्याम्पसका प्राध्यापक बालानाथ सिग्देलले चितवनका पब्लिक क्याम्पसमा यहि फागुन २६ गते मात्रै निर्वाचन समिति गठन गरिने बताउनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.