राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । रास्वपाले यसअघि चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’ रहेकोमा त्यसलाई बदलेर ‘घण्टी’मात्रै राखेको हो । पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
केन्द्रीय समितिले चुनाव चिन्हमा रहेको गोलाकार घेरा हटाउने निर्णय गरेकाले निर्वाचन आयोगले पनि त्यहीअनुसार अनुमति दिइसकेको बताइएको छ ।
उक्त चुनाव चिह्न बोल्न, लेख्न र प्रचार प्रसार गर्नका लागि सहज होस् भन्ने ध्येयले राखिएको अर्यालको भनाई छ । गोलाकारभित्रको घण्टी भन्दा लामो र भद्धा भएकाले घण्टी मात्रै भन्न सजिलो हुने हुनाले चुनाव चिन्हमा फेरबदल गरिएको अर्यालले जानकारी दिनुभयो ।
गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब उपनिर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ । रास्वपाले चितवन–२ मा हुने उपनिर्वाचनकालागि दल दर्ता गर्ने क्रममा नै चुनाव चिह्न पनि फेरबदल गरेको हो ।
रास्वपाको चुनाव चिह्न फेरियो, अब घण्टीमात्रै हुने