
काठमाडौ उपत्यकाभन्दा बाहिरका जिल्लाबाट आई उपत्यकामा बसोवास गरेका नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन उपत्यकाभित्र पाँच स्थान तोकिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजो बुधवार एक सूचना निकालेर उपत्यकामा रहेका देशका विभिन्न जिल्लाका बासिन्दाले काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र बनाउनका लागि स्थान तोकेको जानकारी गराएको हो । विभागको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौबाट बाग्मती प्रदेशका ललितपुर र भक्तपुरबाहेकका सबै जिल्ला र मधेस प्रदेशका पर्सा र धुनषाका बासिन्दाले परिचयपत्र बनाउन सक्नेछन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै मधेस प्रदेशका सप्तरी र सर्लाहीका बासिन्दाले परिचयपत्र बनाउन पाउनेछन् । कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्लासँगै मधेस प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतहटका बासिन्दाले नारायणहिटी दरबार परिसरबाट परिचयपत्र बनाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।
यस्तै नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र बनाउन पाउनेछन् । राष्ट्रिय सभा गृहबाट सरकारी कर्मचारीका परिवारले राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरिएको बताइएको छ ।
राष्ट्रिय परिचयत्रप बनाउन जाँदा नागरिकताको प्रमाणपत्रको सक्कल, बसाइँ सरी आएकाको हकमा बसाइँसराइ प्रमाणपत्रको सक्कल, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल, कर्मचारी भए कार्यालयको सिफारिस र पूर्वकर्मचारी भए पेन्सनपट्टा तथा कर्मचारीका परिवारका लागि कर्मचारीको परिचयपत्रको प्रतिलिपी लैजान विभागले जानकारी गराएको छ । यस्तै देशभरका सबै जिल्ला प्रशासन कार्यालय र ४२ वटै इलाका प्रशासन कार्यालयबाट पनि राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको विभागले जनाएको छ ।