आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी प्रक्रिया आजदेखि सुरु भएको छ । चुनावमा प्रतिस्पर्धा गर्ने विद्यार्थी संगठनले धमाधम आफ्नो संगठन दर्ता गराइरहेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज दिउँसो ३ बजेभित्रमा नाम दर्ता गर्नुपर्नेछ ।
पर्सि फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ । नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर त्यसैदिन बेलुका ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध र बेलुका ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिनेछ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ ।
विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । हरेक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । यो समितिले नै क्याम्पसमा स्ववियु चुनाव गराउने छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ । आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदैछ ।
स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ । त्रिविमा २०१८÷१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सम्म प्रत्येक वर्ष स्ववियू निर्वाचन हुँदै आएकोमा २०३६ देखि दुई–दुई वर्षमा गराउन थालियो । २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियू निर्वाचन भएको थियो । २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो । २०६५ सालयता भने उक्त चुनाव नियमित हुनसकेको छैन । २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियू चुनाव भएको थियो । स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना समेत बन्द गरिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो ।