दिउँसो बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकमा आजदेखि नियमित रुपमा सवारी साधन चल्ने

पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि नियमित रुपमा सवारी साधन चल्ने भएका छन् । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।
पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ ।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडा भएकाले त्यसलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् ।
यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको आचार्यको भनाई छ । अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको बताइएको छ ।
विश्व बैंकको सहयोगमा बनाउन लागिएको पुलको एउटाको पुलको काम सुरु भएको छैन । पुलको छेउमा सुकुम्वासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो ।
पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको हो । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि रु एक अर्ब २२ करोड खर्च हुने छ । सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.