रत्ननगर जेसीजको आयोजनामा आउँदो चैत्र १६ गते रामनवमीको दिनमा रत्ननगर २ शिवालय मन्दिर परिसरमा सामुहिक व्रतबन्ध हुने भएको छ ।
बढ्दो महंगी, खस्किदो अर्थतन्त्र र बजारमा चलिआएको तडक भडकका कारण आफ्नो चलन अनुसारको कार्य गर्नलाई निकै नै कष्टकर बन्दै आएकोमा केहि राहत पुर्याउने उदेश्यले जेसिजले सामुहिक व्रतबन्ध गर्न लागेको हो ।
सामुहिक हिसाबले यस्ता कार्यहरु गर्दा सबै जात जातिका मानिसहरु समेटिने र सामाजिक सहिष्णुताको सन्देश प्रवाह हुने भएकोले सामुहिक व्रतबन्ध कार्यक्रम आयोजना गर्न लागिएको रत्ननगर जेसीजका अध्यक्ष अमित कुमार गुप्ताले जानकारी दिनुभयो ।
जेसीज आस्थालाई पछ्याउदै सन् २००२ देखि नै रत्ननगर जेसीजले सामुहिक व्रतबन्ध कार्यक्रम गर्दै आइरहेको अध्यक्ष गुप्ताको भनाई छ ।
सबै जनमानसलाई टेवा पुग्नेगरी विगतका समय देखि नै उक्त कार्य चल्दै आएको भएपनि बिचमा केही वर्ष भने उक्त कार्यले निरन्तरता पाउन सकेको थिएन । अब भने यसै कार्यलाई निरन्तरता दिदै विगतका बर्षझै यस वर्षपनि मानव सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनाका साथ जेसिजले आँदो चैत्र १६ गते रामनवमीको दिनमा सामुहिक व्रतबन्ध गर्न लागेको हो ।
व्रतबन्धका दिन बटुकलाइ चाहिने सम्पूर्ण पुजासामग्री, व्रतबन्ध गर्दा प्रयोगहुने जोगी भेषको बस्त्र र बटुकको घरपरिवार र आफन्तजनको हिसाबले आउने १० देखि १५ जनालाई भोजन र प्रसादको पनि व्यवस्था रहेको कार्यक्रम संयोजक जेसीज सौरभ रिजालले जानकारी दिनुभयो । ४० देखि ४५ जना सम्मको सिमित बटुक संख्या रहेको हुदा आफ्नो अग्रिम नाम टिपाउनको लागि कार्यक्रम संयोजक रिजालले आग्रह गर्नुभएको छ ।
सामुहिक व्रतबन्ध कार्यक्रमको दर्ता शुल्क रु पाँच हजार रहेको र आर्थिक अवस्थाले अफ्ठ्यारो भएको तर इच्छुक बटुकलाइ समितिको निर्णय अनुसार न्यून शुल्क लिएरमात्र पनि यस कार्यमा सरिक गराईने रिजालको भनाई छ ।
रत्ननगरमा आउँदो चैत्र १६ गते रामनवमीको दिनमा सामुहिक व्रतबन्ध