चितवन क्षेत्र नं २ मा आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आजदेखि दाबी विरोधको कार्यक्रम सुरु भएको छ । यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
चितवनमा आज पनि फागु पर्व मनाइँदै छ । भोलि नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ । दाबी विरोध कार्यक्रम सञ्चालनका लागि बिदाको दिन पनि कार्यालय खोलिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने छन् ।
बिदाको दिन परेपनि आज फागुन २३ देखि २५ गतेसम्म दाबी विरोध कार्यक्रम सञ्चालन हुने र त्यसका लागि निर्वाचन कार्यालय खुल्ला रहने बताइएको छ । दाबी विरोधमा कसैले झूटो विवरण दिएर मतदाता नामावलीमा नाम दर्ता गराएको पाए निजविरूद्ध उजुरी दिन सकिन्छ भने आफ्नो मतदाता नामावलीमा केहि त्रुटि छ भने त्यो सच्याउनको लागि निवेदन पनि दिन सकिन्छ ।
मृत्यु भएका मतदाताको विवरण बुझाउन वडा कार्यालयहरुलाई आग्रह गरिएको छ । मृत्यु भएका मतदाताको विवरण आउने क्रम जारी छ । वडा कार्यालयले फागुन २७ गतेसम्म विवरण पठाउन सक्ने बताइएको छ । निवेदनहरु प्राप्त भएपछि चैत १ गतेसम्म विवरण रुजु गरेर निर्वाचन आयोगमा पठाइने कार्कीको भनाइ छ ।
मृत्यु भएका वा बसाइसराई गरी गएका मतदाताको नाम हटाउन सूचना दिन र नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको सूचना पनि दिन सकिनेछ । त्यसपछि फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा प्राप्त निवेदनसहित जिल्लामा गरिएको अद्यावधिक विवरण निर्वाचन कार्यालयले आयोगमा पठाउनेछ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि जिल्लामा एक हजार एकसय ७९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा धेरै चितवन–२ मा छ सय ३१ मतदाता थपिएका छन् । जिल्लामा कुल मतदाताको संख्या चार लाख नौ हजार पाँचसय २१ पुगेको छ ।
निर्वाचन कार्यालयका अनुसार चितवन–१ मा दुईसय ६४ र चितवन–३ मा दुईसय ८४ मतदाता थपिएका छन् । क्षेत्रगतरुपमा हेर्दा चितवन–१ मा एक लाख ४० हजार एकसय नौ , चितवन–२ मा एक लाख २४ हजार आठसय४६ र चितवन–३ मा एक लाख ४४ हजार पाँचसय ६६ मतदाता संख्या पुगेको छ । दाबी विरोध कार्यक्रम सम्पन्न भएपछि केही मतदाताको संख्या घट्न सक्ने जनाइएको छ ।