राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको मतदानस्थल पुगेर संघीय र प्रदेश सांसदहरुले राष्ट्रपति निर्वाचनमा मतदान गरेका हुन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहनुभएको छ भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । संघीय संसदका तीनसय १३ र प्रदेशसभाका पाँचसय १८ सांसदले मत खसालेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका तीनसय ३४ जना र प्रदेशसभाका पाँचसय ५० जना सांसद मतदाता रहन्छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहने व्यवस्था छ । उक्त चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ । सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ । संघीय संसद र प्रदेश सभाको अलग–अलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर