गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि सिफारिस भएका डीआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ ।
सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हुनुहुन्छ ।
विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंह लगायतका एआईजीहरूले अनिवार्य अवकाश पाएपछि पाँचै जना डीआईजीलाई उनीहरूको ठाउँमा बढुवा सिफारिस गरिएको हो । थापा २०५२ र अन्य चारजना २०५१ सालमा निरक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।
आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् । यद्यपि यहीबीच सरकारले ३० वर्षे सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको गृहकार्यसमेत गरिरहेको छ । यदि ऐन संशोधन भए अवकाशमा जान लागेका अधिकारीहरूको अवधि थपिन्छ । उनीहरूको अवकाशपछि मात्रै बढुवा सिफारिस भएका मध्येबाट भावी महानिरीक्षक बन्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर