रत्ननगर नगरपालिकाको विपन्न नागरिक सिफारिस समितिको बैठकले रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका दीर्घरोगीलाई मासिक पाँच हजार रूपैयाँ उपचार खर्चबापत प्रदान गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मृर्गौला प्रत्यारोपण, मृर्गौला डायलासिस, क्यान्सरपीडित र मेरूदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद १ को २ (ग) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पिसिएस प्रष्टीकरण पत्रानुसार मासिक पाँच हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
रत्ननगर नगरपालिकाले स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत ज्येष्ठ नागरिक, दीर्घरोगी, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
नगरप्रमुख सापकोटाको विशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मृर्गौला प्रत्यारोपण गरेका, डायलासिसको उपचार गरिरहेका, क्यान्सर रोगी र मेरूदण्ड पक्षघात भएका बिरामीहरुलाई साउनदेखि पुस मसान्तसम्म मासिक पाँच हजार रूपैयाँका दरले औषधि उपचार खर्चबापतको रकम उपलब्ध गराउन लागिएको हो ।
चार प्रकारका बिरामीका लागि सम्बन्धित वडा कार्यालयबाट सिफारिस भई आएको र कुनै कारणवश छुटेका बिरामीका सन्दर्भमा पनि औषधि उपचार गराएको परिचय खुल्ने कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क राख्न नगरप्रमुख सापकोटाले आग्रह गर्नुभएको छ । विपन्न भएकै कारण उपचारबाट कोही पनि वञ्चित हुनुनपर्ने भन्दै सापकोटाले रत्ननगर नगरपालिकाले अभिभावकीय जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।
स्वास्थ्य शाखामा हालसम्म एकसय ११ जना बिरामीले नाम दर्ता गराएको रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले बताउनुभएको छ । नाम दर्ता गराएकामध्ये ८१ जना क्यान्सरका बिरामी, मृर्गौला डायलासिस गराइरहेका १७ जना, मृर्गौला प्रत्यारोपण गरेका ११ जना र मेरूदण्ड पक्षघातका दुई बिरामी छन् ।
ऋस्ति शुक्रबार नगरप्रमुख सापकोटाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र स्वास्थ्य शाखा प्रमुखसहितको विपन्न नागरिक सिफारिस समितिको बैठकले कुल एकसय ११ जना बिरामीलाई साउनदेखि पुस मसान्तसम्मको एकमुष्ठ ३० हजारका दरले उपचार खर्च वितरण गर्ने निर्णय गरिएको हो ।
स्वास्थ्य शाखा प्रमुख पौडेलले स्वास्थ्य मन्त्रालयबाट माग गरिएको ३३ लाख ३० हजार रूपैयाँ निकासा भइसकेको जनाउँदै वडा कार्यालयले मृत्यु भएकाको तथ्याङ्क अद्यावधिक गरेपछि साउनदेखि पुससम्म छ महिनाको रकम तत्कालै सम्बन्धित बिरामीको बैंक खातामा पठाइने बताउनुभयो । बिरामीको अवस्थाको तथ्याङ्क हरेक महिना अद्यावधिक गर्दै जाने उहाँले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाले अन्य विपन्न नागरिकको उपचारका लागि रत्ननगर बकुलहर अस्पतालमा ३० लाख रूपैयाँको विपन्न नागरिक कोषसमेत खडा गरेको छ । जसमार्फत उपचार खर्च बेहोर्न नसक्ने विपन्न तथा असहायले उपचार सेवा पाउनेछन् ।
पैसाका कारण कोही पनि उपचार नगरी फर्किनुपर्ने परिस्थिति नआओस् भनेर सो कोषको व्यवस्था गरिएको नगरप्रमुख सापकोटाको भनाइ छ । रत्ननगर नगरपालिकाले ३५ सय विपन्न परिवारको निःशुल्क बिमासमेत गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर