रत्ननगरमा सीप विकाससम्बन्धी तालिम सुरू

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत सिलाइकटाइ, व्युटीपार्लर र पशुपालनसम्बन्धी सीप विकास तालिम आइतबारदेखि सुरू भएको छ । रत्ननगरका वडा नं–३, ८, ९ र १५ लाई लक्षित गरी सो तालिमको सुरूवात गरिएको हो ।
तालिमको उद्घाटन गर्दै नगरप्रमुख एवं मेडपाका संयोजक प्रल्हाद सापकोटाले सीप सिकेर त्यसको सदुपयोग गर्दै उद्यमी बन्न सहभागीहरुलाई आग्रह गर्दै उद्यमी बन्न चाहनेका लागि नगरपालिकाले बिनाधितो बिनाव्याज पाँच लाख रुपैयाँसम्म उपलब्ध गराउने जानकारी दिए ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले निःशुल्करूपमा लिएको तालिम भनेर बेवास्ता नगर्न सहभागीहरुलाई आग्रह गर्दै समयमै सीप सिकेर सफल उद्यमी बनेर दीर्घकालीन उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।
उद्यम विकास समितिका सदस्य अनिता अर्यालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्वाधार विकास समितिका संयोजक रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक एवं मेडपाका फोकल पर्सन रामप्रसाद बस्ताकोटी र सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका सिर्जना क्षेत्रीले सहजीकरण गरेको तालिममा सिलाइकटाइतर्फ ४५ जना, व्युटीपार्लरतर्फ ३० जना र पशुपालनतर्फ २५ जना गरी १०० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
तीन महिनासम्म चल्ने तालिममा सिलाइकटाइतर्फ दुर्गाकुमारी चौधरी र योमकुमारी श्रेष्ठ, व्युटीपार्लरतर्फ ज्ञानु ढकाल, ज्योति शर्मा र चमेली चौधरी, पशुपालनतर्फ कृष्णकान्त न्यौपानेले प्रशिक्षण दिनेछन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.