रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ हिजो मंगलबार रत्ननगर–१६ वडा कार्यालय परिसरमा भएको छ ।
कार्यक्रममा २५ जना नगरवासीले आ–आफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका विविध जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रल्हाद सापकोटाले नगरवासीलाई भेदभावरहित ढङ्गले छिटोछरितो सेवा प्रवाह भइरहेको प्रष्ट पार्दै जोकोहीले मेयरसँग प्रत्यक्ष भेटेर गुनासा राख्न र सेवा लिन सक्ने वातावरण सिर्जना गरेको बताउनुभयो ।
जनप्रतिनिधिका हिसाबले आलोचना सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने नीति रहेको बताउँदै कुनै पनि बहानामा ढिलासुस्ती गर्ने, सेवाग्राहीलाई दुःख दिनेजस्ता काम रत्ननगरमा नहुने उहाँको भनाई छ । नेपालका सात सय ५३ पालिकामध्ये सबैभन्दा छिटो सेवा प्रवाह रत्ननगरबाट हुँदै आएको उहाँको दावी छ । सुशासन कायम गराउने आफ्नो पहिलो प्राथमिकता रहेकाले कोही पनि भ्रममा पर्नु नपर्ने उहाँको जिकीर छ ।
जनताको आवश्यकताका आधारमा योजनाहरु सम्पन्न गर्दै जाने र नगरगौरवका आयोजनाहरु हरियाली पार्क, पर्यापर्यटन, कभर्ड हल निर्माण र वाटर किङडमको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । एक वर्षमै गरेका काम नदेखिने बताउँदै विपन्नलाई स्वास्थ्य बिमा, असहायलाई निःशुल्क उपचारको व्यवस्था, दीर्घरोगीलाई उपचार खर्चको व्यवस्था गरिएको सापकोटाको भनाई छ । नगरपालिका आफ्नै स्वामित्वमा व्लर्ड बैंक स्थापना गरी रेडक्रसलाई हस्तान्तरण गर्न लागिएको जनाइएको छ ।
उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरपालिकाबाट प्रवाह हुने सेवा विभिन्न शाखामार्फत व्यवस्थित रूपमा हुँदै आएको, दोहोरोपना नहुनेगरी उपभोक्ता समितिमार्फत आयोजनाहरु अघि बढिरहेको बताउँदै नगरका दुईसय ६३ आयोजनामध्ये एकसय १३ वटा आयोजनाको ठेक्का सम्झौता भई काम भइरहेको जानकारी दिनुभयो ।
नगरपालिकाको कुल एक अर्ब ७६ करोड रुपैयाँको बजेटमध्ये ५१ लाख रुपैयाँ खर्च भएको, पुरानो बेरुजु रकम चारकरोड ४३ लाख रुपैयाँको फछ्र्योट गर्न सफल भएको र लक्ष्यअनुरुप राजस्व संकलन भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरशिक्षा अधिकारी बद्रिनारायण शर्माले रत्ननगरमा शिक्षाको अवस्था गर्व गर्न लायक नै रहेको र अपेक्षा पूरा गर्ने हिसाबले अगाडि बढेको बताउनुभयो । विपन्न विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरिएको र उच्च शिक्षाका लागि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कोषको व्यवस्था मिलाइएको उहाँको भनाइ थियो । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा पढाउने शिक्षकका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढ्ने व्यवस्था गराउन लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्वनगरप्रमुख नारायण वनले आफ्नो कार्यकालमा शिलान्यास गरेर छाडेका आयोजनाहरु पूरा गर्न, विकास निर्माणभन्दा पनि किसानको हित हुनेखालका काम गरी प्रोत्साहन दिन, शैक्षिक गुणस्तरका लागि शिक्षकहरुलाई एकअर्को विद्यालयमा स्थानान्तरण गर्न आग्रह गर्दै पूर्वमेयरको हैसियतले नगरको समग्र विकासमा हातेमालो गरेर अगाडि बढ्ने चाहना रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका कार्यवाहक सभापति कमलनाथ अधिकारी, नेकपा (एमाले)का नगरकमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र)का नगरसचिव मेघनाथ पौडेल, राप्रपाका नगर प्रवक्ता सन्तोष लामा, नेकपा (एकीकृत समाजवादी)का नगरसचिव ईश्वरीराज अधिकारी लगायतले नगरले गर्नुपर्ने कामकारबाहीका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा उठेका सवालको जवाफ वडा नं–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, वडा नं–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं–१५ का वडाध्यक्ष आशिष तामाङ र वडा नं–१६ का वडाध्यक्ष हेमराज थापाले दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन, प्रत्येक वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन, किसानलाई मल, बीउबिजन उपलब्ध गराउन, सबै घरमा खानेपानीको पहुँच पु¥याउन, बजेट र क्यालेन्डरअनुसार काम गर्न, सहकारी संस्थामा अनुगमन बढाउन, भूमिहीनको समस्या समाधान गर्न र कर्मचारी प्रशासनलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
विप्स मिडियाले सहजीकरण गरेको कार्यक्रमअघि गरिएको सर्वेक्षणमा सेवाग्राहीले काममा ढिलासुस्ती नरहेको, कुनै पनि काममा कर्मचारीको प्रलोभन नरहेको, कसैलाई भनसुन गरी काम गराउनु नपरेको प्रतिक्रिया दिएका थिए । असल शासनको अभ्यास रत्ननगरले अवलम्बन गर्दै गएको पनि सर्वेक्षणमा सहभागीहरुले आफ्ना राय प्रकट गरेका थिए ।