राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताउनुभएको छ ।
चितवनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द गरिने बताउनुभएको हो ।
लामिछानेले इमानको यात्रामा हजारौं जोडिएका र को कुन उद्धेश्यका लागि जोडिएका छन् भनेर बुझ्न समय लाग्ने बताउनुभयो । बुझ्नका लागि समय लाग्दै गर्दा रास्वपामा जोडिएकाहरूले पार्टीले बनाएको विधिमात्रै मानिदिए पुग्ने उहाँको भनाई थियो ।
उहाँले संगै हिँडेका सहयात्रीले बाटो बिराए भने उनीहरूका भारी आफूले नबोक्ने पनि बताउनुभयो । ‘इमान किन्न गौँडागौँडामा मान्छे बसेका छन् । तर, बेच्नेले नबेच्यो भने किन्नेले किन्न सक्दैन,’ उहाँले भन्नुभयो–‘कसैले गलत गरेछ आफन्त हो कि पराई हो अनुहारमा नहेरी सजाय दिन सकिन्छ ।’
इमान बेच्नेहरूका लागि रास्वपाको ढोका बन्द रहन्छः सभापति लामिछाने