नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एक जनालाई पक्राउ गरेको छ । ।
पक्राउ पर्नेमा सन्देश शर्मा रहेको बताइएको छ ।शर्मालाई कार्यालयको टोलीले आज बुधबार दिउँसो पक्राउ गरेको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ । यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो ।
उनीहरूले विभिन्न व्यक्तिहरूबाट पाँचदेखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ । गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गरेको उजुरी परेपछि कार्यालयले अनुसन्धान अघि बढाएको थियो । यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको छ । २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो । उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो ।