सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–एक भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
सगरमाथाको पाँचहजार सातसय मिटरको उचाइमा हिमपहिरोमा परी तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा गरी तीनजनाको आज बिहान मृत्यु भएको हो ।
बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।
घटना निकै खोचमा भएकाले आफ्ना टोलीले उद्धार गर्न नसकिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो ।
सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो ः तीन शेर्पा आरोहीको ज्यान गयो