त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भरे राति एक बजेदेखि भोली बिहान सात बजेसम्म उडान र अवतरण अवरुद्ध हुने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान छ घण्टा अवरुद्ध हुने भएको हो ।
विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि यो समयमा विमानस्थलमा सेवा अवरुद्ध हुने भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । महाप्रबन्धक तिवारीले सूचना जारी गरेर विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गरिने भएकाले सेवा अवरुद्ध हुने जनाउनुभएको हो । उक्त समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।