राप्ती नगरपालिकाको बजारक्षेत्र अनुगमन: अखाद्य तेल नष्ट, केही म्याद गुज्रिएको सामान भेटियो

राप्ती । राप्ती नगरपालिकाले बजारक्षेत्रको अनुगमनमा गरेको छ । राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाको नेतृत्वमा गरिएको अनुगमनमा अखाद्य वस्तु र म्याद गुज्रिएका सामान भेटिएका छन् । खुरखुरे चोकको एक किराना पसलबाट १७ प्याकेट लेज र केही थान मसाला म्याद गुज्रिएको पाइएको हो ।

त्यस्तै मिष्ठान्न भण्डारमा जेरी तथा लड्डुहरुमा कृत्रिम रङ्गको प्रयोग गरिएको पाइएको खाद्य प्रविधि एवं गुण डिभिजन कार्यालय भरतपुरकी खाद्य निरीक्षक बन्दना पन्तले बताइन् । “खानेकुरामा कृत्रिम रङ्ग हाल्न पाइदैन ।” उनले भनिन् “यसले क्यान्सर जस्तो घातक रोग निम्त्याउन सक्छ ।” यस्तै केही मिष्ठान्न भण्डारमा पकाउने तेल गुणस्तरहीन भएको उनले बताइन् । ३ वटा मिठाई पसलबाट लगभग ५ लिटर अखाद्य तेल नष्ट गरिएको छ । धेरै पटक एउटै तेल प्रयोग गर्दा र एउटै तेललाई धेरै तापक्रममा तताउँदा तेल अखाद्य बन्ने खाद्य निरीक्षक पन्तले बताइन् ।

अनुगमन गरिएका मासु पसलहरु सन्तोषजनक भेटिएको छ । बधशालालाई सफा राख्न अनुगमन टोलीले निर्देशन दिएको छ । नगरपालिकाले क्रसरको अनुगमन गरेको छ । नगरले राप्ती-७ मा रहेको जय कालिका रोडा उद्योगमा सिल गरेको गिट्टी बालुवा प्रयोग गरेको आशंकामा पुन: नापजाँच गरेको छ । यस्तै सुनचाँदी पसल र बैँकहरुलाई नगरपालिकामा दर्ताको लागि अनुगमन टोलीले सुझाव दिएको छ ।

नगरभरि रहेका सुनचाँदी पसल, बैँक तथा पेट्रोल पम्प समेत नगरपालिकामा दर्ता हुनुपर्ने राप्ती नगर उप प्रमुख देवेन्द्र लामाले बताए । खानासँग मान्छेको स्वास्थ्य प्रत्यक्षरुपमा जोडिएको हुँदा सरसफाइमा ध्यान दिन पनि उनले अनुरोध गरेका छन् ।

शुक्रबार नगर उप प्रमुख देवेन्द्र लामाको नेतृत्वमा खाद्य निरीक्षक बन्दना पन्त, अनुगमन समिति सदस्य सुमिता डल्लाकोटी, प्रशासकीय अधिकृत दिपक थिङ, शारदादेवी शर्मा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल, प्राविधिक र सुरक्षाकर्मीको टोलीले नगरभित्रको बजारहरु अनुगमन गरेको थियो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.