रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ३६ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ ।

शिक्षक व्यवस्थापन कार्यदलकाे सिफारिसका आधारमा नगरपालिकाले शिक्षकहरुकाे आन्तरिक सरुवा गरेकाे हाे । शिक्षक सरुवाकाे लागि कार्यदलले गरेकाे सिफारिसलाई शिक्षा समितिकाे बुधबार बसेकाे बैठकले अनुमाेदन गरेकाे हाे ।

साे नगरपालिकाले २० जना निमावि तह र १६ जना मावि तहका शिक्षककाे आन्तरिक सरुवा गरेकाे हाे । सरुवा भएका ३६ जना मध्ये चार जना प्रधानाध्यापक समेत छन् । शिक्षा समितिका संयाेजक तथा मेयर प्रलाद सापकाेटाले शिक्षाकाे गुणस्तर सुधारकाे लागि शिक्षकहरुकाे आन्तरिक सरुवा गरिएकाे बताए ।

एउटा विद्यालयमा बटुलेकाे अनुभव अर्काे विद्यालयमा प्रयाेग गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शिक्षककाे आन्तरिक सरुवा गरिएकाे उनकाे भनाई छ । रत्ननगरका २७ वटा सामुदायिक विद्यालयमा ३२३ जना शिक्षकहरु कार्यरत छन् ।

२७ वटा विद्यालय मध्ये २६ वटा विद्यालयमा निमित्त प्रधानाध्यापक रहेका छन् । निमित्त प्रधानाध्यापकलाई प्रधानाध्यापक बनाउन प्रधानाध्यापक व्यवस्थापन कार्यविधि तयार गरिएकाे उपमेयर यादव प्रसाद पाठकले बताए ।

कार्यविधि अनुसार प्रधानाध्यापककाे लागि विद्यालयले विज्ञापन गरि परीक्षा लिने उपमेयर पाठकले बताए । यस अघि पनि रत्ननगर नगरपालिकाले ५० जना प्रावि र दुई जना निमावि गरि ५२ जना शिक्षककाे आन्तरिक सरुवा गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर