बाघमारा सामुदायिक वनको साधारण सभामा संरक्षणकर्मीलाई सम्मान

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले एक बर्षमा दुई करोड बढी आम्दानी गरेको छ । शनिवार सम्पन्न सो वनको १९औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा दुई करोड २४ लाख ८१ हजार रूपैया आम्दानी गरेको हो । दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको सो वनले आम्दानी भन्दा बढी दुई करोड ३० लाख ६९ हजार खर्च गरेको छ । चालू आर्थिक बर्षको आम्दानीबाट गत आबको ऋण चुक्ता गर्ने गरि खर्च गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले आम्दानीको अधिकांस हिस्सा वन संरक्षण र उपभोक्ताको गरिबी निवारणमा खर्च गर्दै आएको अध्यक्ष तामाङले बताए । हात्ती सफारीबाट ३९ लाख १० हजार, डुंगा सयरबाट १ करोड २६ लाख, नेपाली प्रवेशबाट २५ लाख १२ हजार, सरसफाई शुल्क ६ लाख ३९ हजार, मचानबाट १ लाख २४ हजार, डिभिजन वन कार्यालयबाट आम्दानी १४ लाख १४ हजार, वन बीचको साझेदारी आम्दानी ६ लाख १० हजार, नगरपालिकाबाट आम्दानी २ लाख लगायतका शीर्षकमा दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको हो । सो वनले वन व्वयवस्थापन कार्यक्रम, सामुदायिक विकास कार्यक्रम, संरक्षण शिक्षा कार्यक्रम, आयआर्जन तथा विपन्न बर्ग उत्थान कार्यक्रम, उपभोक्ता समितिको संस्थागत विकास,अन्य कार्यक्रम, पर्यापर्यटन विकासमा दुई करोड ३० लाख ६९ हजार खर्च गरेको हो । साधारण सभाको अबसरमा भूमाफियाको कब्जाबाट वन जोगाउने २१ जनालाई सम्मान गरिएको छ । भूवनेश्वर चौधरी, शिव प्रसाद आचार्य ,विश्वनाथ पौडेल, स्व. कान्छा लोप्चन, स्व. ठगुवा महतो, रामकृष्ण महतो, सोमला राउत, जनुवा राउत, स्व. जनुवा राउत, स्व. छनुवा राउत, झगरु महतो, स्व. कानुन महतो, शंकर महतो, पाण्डु महतो, विष्णु प्रसाद अर्याल, प्रकाश ढकाल, गिरीधारी चौधरी, ढुण्डीराज सिलवाल, रामु रिजाल, रामकाजी अधिकारी, रुकमिणी रिमाललाई सम्मान गरिएको थियो । त्यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रेन्जर ऋषिराम सुवेदी सहित अन्य संरक्षणकर्मी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुन प्रमुख अतिथि रहेको सो कार्यक्रममा वनका अध्यक्ष जीतु तामाङले भावी कार्ययोजना तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष आशमान लामाले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ७ का वडाध्यक्ष सजना महतो, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर मगर, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्षराज श्रेष्ठ, क्षेत्रीय होटल संघका उपाध्यक्ष ओम प्रकाश पाण्डे, युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडा, लगायतले मन्तव्य राखेको थियो । वनमा उपाध्यक्ष सीताराम महतोले स्वागत मन्तव्य राखेको सो कार्यक्रम कार्यसमिति सदस्य सरस्वती चालिसेले सञ्चालन गरेकी थिइन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.