कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान झन्डै तीन वर्षपछि फेरी सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको हो ।
नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा आठ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।
काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे चार घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ । चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाँ वायुसेवाले राजधानी जोड्ने सिधा उडान हालसम्म गरेका छैनन् ।
मंगलबार रिअपरेसन उडान भएको छ । त्यस्तै नियमित उडान भने आउँदो माघ २८देखि हरेक शनिबार काठमाडौं–बेइजिङ–काठमाडौं उडान हुने र उक्त रुटमा एकसय ४४ यात्रु क्षमताको एयरबस तीनसय १९ जहाज उडाउने बताइएको छ ।
कोरोना महामारीका कारण नेपाल उडान बन्द गरेका छ वटा चिनियाँ वायुसेवामध्ये यसअघि मंसिर १३ बाट साइना साउर्दनले ग्वाङझाउबाट र पुस २४ देखि एयर चाइनाले छेन्दुबाट उडान सुरु गरेका थिए ।
कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु