विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ । हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाउने अस्पतालका मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको हो ।
चिकित्सक यादवसहित अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा रोक लगाइएको अस्पतालले जनाएको छ । उक्त घटनाको छानबिन गर्न आज बिहीबार अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा तीन सदस्य समिति समेत गठन गरिएको छ । अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले तीनैजनालाई स्पष्टीकरण पनि सोधिएको बताउनुभएको छ ।
बुधवार बिहान ८ देखि दिउँसो २ बजेसम्म डा. यादव र अहेबहरू शिशुको उपचारमा खटिएका थिए । मोरङको जहदा गाउँपालिका–३ का दिलीप मुखिया र उहाँकी श्रीमती उमा मुखियाले शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचार गर्न ल्याउनुभएको थियो । तर, चिकित्सक यादवले शिशुको उपचार नगरी मृत घोषणा गरी फिर्ता पठाइदिएपछि शिशुलाई घर लगिएको थियो । अन्त्येष्टिको तयारी हुँदै गर्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका थिए । अहिले शिशुको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । मृत घोषणा गरिएको शिशु जीवितै पाइएपछि कोसी अस्पतालका चिकित्सक यादवमाथि कुटपिट समेत गरिएको थियो ।
© 2024, All right reserved to Radio Arpan 104.5
Web Design By Rijan Computers Contact: +977 9855080226, 9809823516