प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत र विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए ।
बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्यो ।
सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियो । २०१३ सालमा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधि सभा सदस्य चुनाव २०७९ मा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गर्नुभएको घिमिरे विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गर्नुभएको थियो । अहिले उहाँ एमालेको स्थायी समिति सदस्य र प्रदेश नम्बर १ को इन्चार्ज हुनुहुन्छ ।