पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा आज आइतबार निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत हुनुहुन्थ्यो ।
सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिनुभएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गर्नुभएको थियो भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो ।
१९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुईवटा हत्याको अभियोगसमेत लागेको थियो । उहाँमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । उहाँमाथि २००७ संविधानलाई निलम्बन सम्बन्धी राष्ट्रद्रोहको मुद्दासमेत रहेको छ । मुसर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आउनुभएको थियो ।