प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्डको) को परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गर्नुभएका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।
आफूलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेको डां सापकोटाले जानकारी दिनुभयो । सापकोटाले भोली बुधबारदेखि कार्यभार सम्हाल्नुहुनेछ ।
यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप–कार्यकारी निर्देशक रहनुभएका सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरासमेत हुनुुहुन्छ । सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आउनुभएको छ । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आउनुभएको छ । उहाँ अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा पनि जानकार मानिनुहुन्छ । सन् २०१८मा चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गर्नुभएका सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्नुहुन्छ ।
प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त