रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई दिइने एचपिभी खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकको अध्यक्षता एवं नगरशिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले महिलाको पाठेघरको क्यान्सर नहोस् भन्ने उद्देश्यले क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयसँग पहल गरी रत्ननगरका ५६ विद्यालयमा अध्ययनरत ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई एचपिभी खोप लगाउन लागिएको बताउनुभयो ।
भरतपुर महानगरका सामुदायिक विद्यालयलाई लक्षित गरी एचपिभी खोप ल्याइएकोमा महानगर र माडी नगरपालिकाका विद्यालयपछि यही फागुन १४ गतेदेखि १९ गतेसम्म रत्ननगरका विद्यालयहरुमा खोप कार्यक्रम ल्याइएको सुवेदीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले पनि सो खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२३ देखि राष्ट्रिय खोप नीतिमा समावेश गर्न लागेको बताइएको छ ।
कार्यक्रममा डा. सुवेदीले परापूर्वकालदेखि नै अस्तित्वमा रहेको क्यान्सर विश्वव्यापी समस्या बन्दै आएको उल्लेख गर्दै बर्सेनि एक करोड ९३ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेकोमा बर्सेनि यस रोगबाट एक करोड मानिसको मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा नेपालमा १० हजार पाँचसय १६ जना क्यान्सरका नयाँ रोगी थपिएकामध्ये चारहजार नौसय ३९ पुरुष र पाँचहजार पाँचसय ७७ महिला रहेको पछिल्लो तथ्याङ्कसमेत प्रस्तुत गरिएको थियो । जसमा पुरुषमा सबेभन्दा बढी फोक्सो र मुटुको क्यान्सर देखिने गरेको छ भने महिलामा पाठेघरको मुख र स्तन क्यान्सर बढी देखिने गरेको छ ।
नेपालमा अस्वस्थ जीवनशैली, अस्वस्थकर खानपिन र व्यवहारका कारण ९० प्रतिशत र वंशाणुगत, आन्तरिक शक्ति कमजोर रहेका र जातीयताका कारण १० प्रतिशत क्यान्सर हुने गरेको बताइएको छ । क्यान्सर रोगबारे समयमै सचेत हुन जरूरी रहेको डा. सुवेदीको भनाइ छ ।