राष्ट्रपति चुनावका लागि आठ दलीय गठबन्धनको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि सुरु

राष्ट्रपतिको चुनावका लागि आठ दलीय गठबन्धनले बाग्मती प्रदेश सभाका सदस्यका लागि आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
अब आउँदो २५ गते हुने चुनावमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी संयन्त्र गठन गरिएको छ । संयन्त्रको निर्णय अनुसार बाग्मतीसहित सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुनेछ । यसअघि हिजो गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो । राष्ट्रपति चुनावका लागि मनोनयनको अघिल्लो दिन गत फागुन १२ मा आठदलीय गठबन्धन बनेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् ।

आठदलीय गठबन्धन सकेसम्म मत क्रस हुन नदिने गृहकार्यमा छ । त्यसैअनुरुप २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाडौमा उपस्थित हुन आठ वटै राजनीतिक दलले निर्देशन समेत दिएका छन् । राष्ट्रपति पदका लागि उम्मेदवारद्वय नेपाली कांग्रेसका नेता पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ पनि आफ्नो पक्षमा मत माग्नमै व्यस्त हुनुहुन्छ । नेम्वाङले हिजो नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग भेट गर्नुभएको थियो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग पनि मत माग्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई लिखित पत्र पठाएर आ–आफ्नो उम्मेदवारको पक्षमा मत मागिसक्नुभएको छ ।
राष्ट्रपतिका उम्मेदवार पौडेलले पनि सबै दलका सांसदलाई छुट्टै पत्र लेखेर मत माग्नुभएको छ । राष्ट्रपतिको चुनावमा भाग लिने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कुल मतभार ५२ हजार छ सय २८ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार तीन सय १५ मत ल्याउनुपर्छ ।
गठबन्धनसँग अहिले ३१ हजार नौ सय १७ मत छ । एमालेको कुल मतभार १५ हजार तीन सय १२ छ । एमाले अहिले तटस्थ रहेका केही साना दल र आठदलीय गठबन्धनबाट मत क्रस गराउने प्रयासमा देखिएको छ । आउँदो २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र नेम्वाङले गत १३ गते मनोनयन दर्ता गर्नुभएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.