दीपा चालिसे

पछिल्लो समय नेपालमा बलात्कार, हत्या, हिंसा जस्ता काहाली लाग्दा घटना त दिनप्रतिदिन बढ्दै गइरहेका छन् । अझ बलात्कार जस्तो जगन्य अपराधमा त युुवति मात्रै नभएर बालिका र वृद उमेरका महिला पनि बलात्कारको शिकार बनेका छन् । विद्यालय गएकी चेली हुन् वा बजार अनि मेलापात गएकी छोरी बुहारी नै किन नहुन्– बेलुका घर फर्किदा सकुशल फर्किन्छन् वा लास बन्छन् कुनै टुंगो छैन । देशको फितलो कानुनले मुलुकमा दिनपतिदिन बलात्कार जस्तो जगन्य अपराध बढिरहेकै बेला नेपालमा दैनिक छ वटा बलात्कारका घटना हुने गरेको पाइएको छ । पछिल्लो पाँच वर्ष र चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कलाई केलाउँदा दैनिक छ वटा बलात्कारका घटना हुने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्ला पाँच वर्षमा १० हजार सात सय ३८ बलात्कारका घटनाको मुद्दा दर्ता भएका छन् भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म ११ सय १७ बलात्कारका मुद्दा दर्ता भएका छन् । पछिल्लो ६५ महिनाको तथ्याङ्क विश्लेषण गर्ने हो भने यो संख्या दैनिक औषतमा छ जना हुन आउँछ । आर्थिक वर्ष २०७४–०७५ मा बलात्कारका एक हजार चारसय ५३ मुद्दा प्रहरीले दर्ता गरेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५–०७६ मा यो संख्या बढेर दुई हजार दुईसय ३० पुगेको छ । आर्थिक वर्ष २०७६–०७७ मा दुई हजार एकसय ४४ मुद्दा दायर भएका छन् भने आर्थिक वर्ष २०७७–०७८ मा दुई हजार पाँचसय ३१ बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष २०७८–०७९ मा दुई हजार तीनसय ८० बलात्कारका मुद्दा दायर भएका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक हजार एकसय १७ मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्याङमा देखिएको छ । प्रहरी तथ्याङ्कको विश्लेषण अनुसार अधिकांश बलात्कारका घटनामा चिनजानै व्यक्तिको संलग्नता देखिएको छ । आर्थिक वर्ष २०७४–०७५ मा बलात्कारका एक हजार चारसय ५३ घटनामा ११ सय ५३ जना चिनजानकै व्यक्तिको संलग्नता रहेको देखिएको छ ।
आर्थिक वर्ष २०७५–०७६ मा दुई हजार दुईसय ३० बलात्कारका घटनामा १८ सय ७० जना परिचित अभियुक्त देखिएका छन । आर्थिक वर्ष २०७६–०७७ मा दुई हजार एकसय ४४ मुद्दा दायर भएकामा यी घटनामा १७ सय ६१ जना परिचित देखिन्छन् । आर्थिक वर्ष २०७७–०७८ मा दुई हजार पाँचसय ३१ बलात्कार घटना हुँदा १९ सय ९९ जना परिचित नै घटनामा संलग्न देखिन्छन् । आर्थिक वर्ष २०७८–०७९ मा दुई हजार तीनसय ८० बलात्कारका मुद्दा दायर भएको देखिएको छ ।
उक्त घटनामा १९ सय ५६ चिनजानै व्यक्ति संलग्न भएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक हजार एकसय १७ मुद्दा दर्ता भएका छन् । जसमा नौसय २७ जना चिनजानकै व्यक्ति संलग्न देखिएका छन् । चिनजानका व्यक्तिमा छिमेकी, साथी, हाडनाता पर्ने आफन्त, पारपाचुके भएका श्रीमान, शिक्षक, घरमालिकलगायत देखिन्छन् । परिवार र समाजमा सचेतनाकै कारण बलात्कारका घटनामा कमी आउने गरेको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेले बताउनुभयो । कतिपय अवस्थामा त बलात्कार जस्तो गम्भीर अपराध परिवारभित्रै लुकाउने भएकाले अनुसन्धानमा कठिनाइ हुने गरेको डीआईजी पोखरेलको भनाई छ । यस्ता घटनाविरुद्ध सबै पक्ष एकजुट भएर लाग्नुपर्ने उहाँको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर