ध्वनि प्रदूषणले नारायणी नदीका जलचर प्रभावित

नारायणी नदीमा सञ्चालनमा रहेका मोटर बोट, स्टिमरलगायतका जल यातायातबाट निस्कने ध्वनि प्रदूषणले जलचर प्रभावित बनेका छन् । माछा, गोहीलगायतका जलचरको बासस्थान रहेको नारायणी नदीमा पछिल्लो समय मोटर बोटको ध्वनि प्रदूषण बढ्दो क्रममा छ । बढ्दो ध्वनि प्रदूषण नरोकेमा जलचरहरूको बासस्थान र संरक्षणमा चुनौती देखिएको त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय क्याम्पसका उपप्राध्यापक दीपनारायण शाहले बताउनुभयो।
अहिले मोटर बोट चलेका ठाउँमा माछा पाइनै छाडेको छ । नारायणीमा माछाको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्दा जलचरहरूको पारिस्थितिक प्रणालीमा समेत यसले गम्भीर असर गरेको शाहको भनाई छ ।
नेपालमा पाइने एकसय ८५ प्रजातिका माछामध्ये नारायणीमा एकसय २० प्रजातिका माछा पाइने गरेका छन् । विशेष गरी बग्ने पानीमा रहने धेरै प्रजातिका माछा नारायणीमा पाइन्छ ।
घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लभ जीव मात्रै होइन, पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुर, थेर, गर्दीजस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख बासस्थान नारायणी नदी मानिन्छ । नारायणी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आउनुभएका गैँडाकोटका विष्णु बोटे पहिलाजस्तो अहिले माछा मार्न सहज नभएको बताउनुहुन्छ ।

अहिले नारायणगढस्थित नारायणी नदी किनारमा २२ वटा स्टिमर चल्छन् भने योभन्दा करिब आठ किलोमिटर पश्चिम शिवघाटमा जेट बोट सञ्चालनमा छ । यसको ध्वनि प्रदूषण प्रत्यक्ष नदीमा देखिन्छ । कतिपय स्टिमर र मोटर बोटको इन्जिनमा खराबी आउँदा धुवाँको मुस्लो निकालेर चल्दा वायु प्रदूषणसमेत हुने गरेको बताइन्छ । मोटर बोट सञ्चालकहरू भने मोटरबोटले माछालाई असर नगरेको दाबी गर्छन् ।
काठमाडौँ विश्वविद्यालय जीव विज्ञान विभागका उपप्राध्यापक डा. रामदेवी तचामोले स्टिमर तथा मोटर बोटले ध्वनि र वायु प्रदूषण कम गर्न सक्ने भए पनि त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “स्टिमरहरू नै कम आवाज निकालेर चलाउन सकिन्छ तर त्यसतर्फ ध्यान पुगेको देखिँदैन ।” नारायणी नदीमा भरतपुर महानगरपलिकाको स्वीकृतिमा मात्रै स्टिमर तथा मोटर बोट चलाउन पाउने व्यवस्था रहेकोले सञ्चालन अनुमति दिँदा नै यसले जलसम्पदामा पार्ने असरका बारेमा अध्ययन हुनु आवश्यक छ ।
स्टिमर सञ्चालनको अनुमति दिँदा नै वातावरण र जलसम्पदामा पार्ने प्रभाव न्यूनीकरण गर्न वातावरणीय प्रभाव अध्ययन हुनु आवश्यक रहेको डा. तचामोको भनाई छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.