नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा शल्यक्रिया गरेर जन्माइयो हात्तीको छावा

नेपालमा पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीले सामान्य तवरले बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरेर छावाको जन्म गराइएको हो । शल्यक्रियाबाट भाले छावा निकालिएको हो ।
वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ नेतृत्वको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको समेत सहभागिता रहेको बताइएको छ । क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आएको समयमा ढोईले बच्चा जन्माउन नसकेपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा अन्य चिकित्सकमा डा. विकल्प कार्की र डा. अमिर सडौलालगायतका अन्य चिकित्सकको समेतसहभागिता थियो ।

दुई दिनसम्म व्यथा लाग्दा पनि गण्डकीकलीले बच्चा जन्माउन नसकेपछि उसको शल्यक्रिया गरिएको थियो । दुई दिनदेखि व्यथा लाग्दासमेत गण्डकीकलीले छावा जन्माउन नसकेपछि चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्नु परेको डा. श्रेष्ठले बताउनुभयो । नेपालमै पहिलोपटक हात्तीको शल्यक्रिया गरेर छावा निकालिएको उहाँको भनाई छ । नेपालमा हालसम्म कुनै पनि जंगली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो,’ डा. श्रेष्ठले भन्नुभयो–‘बच्चा पेटमै अड्किएपछि हामीले हात्तीको पुठो र योनीको बीचमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेका हौँ ।’
पाठेघरबाट फोहोर पानी निस्किएपछि चिरिएको घाउ दुई÷चार दिनमा सिलाइने चिकित्सकले बताएका छन् । डा. श्रेष्ठले शल्यक्रिया गर्ने क्रममा हात्तीलाई चिर्ने ठाउँमा नदुख्ने र लठ्याउने औषधि दिइएको पनि जानकारी दिनुभयो । गण्डकीकलीको पेटमा बच्चा उल्टो रहेकाले समस्या भएको बताइएको छ । अहिले जन्मिएको नयाँ छावाले पनि तत्काल श्वासप्रश्वास नगरेपछि त्यसलाई चिकित्सकले केहीबेर सुँडबाट कृत्रिम श्वास दिएर बचाइएको हो । केहीबेरको कृत्रिम श्वासप्रश्वासपछि छावा अहिले स्वस्थ रहेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.