आठ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

त्रिभुवन विश्वविद्यालय सेवा आयोग आठ महिनादेखि अध्यक्षविहीन छ । गत साउन १८ मा प्रा.डा. लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अर्को अध्यक्ष पाउन सकेको छैन ।
अध्यक्ष नियुक्त हुन नसक्दा लेक्चर तथा प्राध्यापकहरुको परीक्षा सञ्चालन हुन सकेको छैन भने नयाँ विज्ञापन खोल्न पनि ढिलाइ भइरहेको त्रिवि सेवा आयोग प्रमुख केदारनाथ ढकालले बताउनुहुन्छ ।
करिब दुई हजार पाँचसय कर्मचारीको विज्ञापन गर्न नपाउँदा काममा समेत प्रभाव पर्न थालेको छ । करिब पच्चिस सय कर्मचारीको दरबन्दी रिक्त छ । त्यसले दैनिक काममा प्रभाव पर्न थालेको गुनासो आउन थालेको प्रमुख ढकालको भनाई छ ।
करिब त्यहि संख्यामा नयाँ शिक्षकहरुको पनि विज्ञापन गर्नुपर्ने तर अध्यक्ष नियुक्त हुन नसक्दा यी सबै कामहरु रोकिएको ढकालले जानकारी दिनुभयो । राजनीतिक भागबन्डा नमिल्दा लामो समयदेखि आयोग अध्यक्ष बिहिन बन्नुपरेको कर्मचारी बताउँछन् ।
पौडेलको कार्यकाल सकिएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले विवादित व्यक्तिलाई आयोगको अध्यक्ष बनाउन खोजेको भन्दै विरोध भएपछि खुला विज्ञापनमार्फत नियुक्त गर्ने निर्णय अनुसार तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेल संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त सिफारिस समितिले सेवा आयोग अध्यक्षका लागि गरेको खुला दरखास्त आह्वानमा ३६ जनाको आवेदन परेको जनाएको थियो । तर आवेदन लिएपछिको प्रक्रिया भने अघि बढ्न सकेन ।

कुलपतिले शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने र समितिले सिफारिस गरेको आधारमा नियुक्त गर्ने व्यवस्था छ । कुलपति फेरिएपछि नयाँ शिक्षामन्त्री नियुक्त भएको केही दिनमा नै फेरि रिक्त हुन गयो । आयोगमा अध्यक्ष नियुक्तिको लागि अहिले नयाँ केही नभएको शिक्षा सचिव रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
नयाँ सरकार बनेसँगै गठबन्धन पनि फेरियो । एमाले माओवादीको सरकारले पनि आयोगको अध्यक्षको लागि चासो देखाएन । त्यसपछि नयाँ गठबन्धनको सरकार छ । अहिलेको सरकारले पनि आयोगमा अध्यक्ष नियुक्तिको लागि चासो देखाएको छैन । अध्यक्ष नहुँदा भइरहेको समस्याबारे त्रिवि कार्यकारी परिषद तथा कुलपतिलाई जानकारी गराएपनि प्रक्रिया अगाडी नबढेको सेवा आयोग प्रमुख ढकाल बताउँनुहुन्छ । त्रिवि सुधार गर्नको लागि भन्दा पनि मेरो भागमा के भन्ने मानसिकता बोकेका व्यक्तिहरु सरकारको नेतृत्वमा भएकोले नियुक्तिमा ढिलाइ भइरहेको कर्मचारी बताउँछन् । विश्वविद्यालयको अवस्थाप्रति सरकारलाई कुनै चासो नभएको आरोप लगाउँदै कर्मचारीले भ्रष्टहरु सरकारको नेतृत्वमा भइन्जेल त्रिविको मात्रै नभई सबै निकायको हालत यस्तै हुने बताएका छन् ।
त्रिवि सेवा आयोगले आठ महिना लाग्दा पनि अध्यक्ष नपाउँदा पनि प्राध्यापकहरुको विभिन्न संघसंगठन, कर्मचारी संघसंगठनहरु समेत मौन हुनु आश्चर्यजनक भएको बताइएको छ । आयोगमा पर्याप्त कर्मचारी नहुँदा काम सहजरुपमा हुन सकेको छैन ।
तर, यता त्रिभुवन युनिभर्सिटी टिचर एसोसियसन (टुटा)का अध्यक्ष प्रा.डा.बसन्त अधिकारीले भने सबैले दवाव दिएकै कारण पूर्व प्रधानमन्त्रीले सिफारिस समिति गठन गरेको बताउँनुहुन्छ । अहिले सिफारिस गर्ने सहकुलपति नै नहुँदा दवाव दिन जाने आधार नभएको उहाँको भनाई छ । त्रिवि सेवा आयोगमा लामो समयसम्म अध्यक्ष नियुक्ति नहुँदा विश्वविद्यालय झन खस्कँदै गएको बताइएको छ ।
नवनिर्वाचित स्ववियु सभापति श्यामराज ओझा योग्यता, क्षमताको आधारमा त्रिवि सेवा आयोगको अध्यक्ष छिटो नियुक्ति हुनुपर्छ भनेर झकझकाइरहे पनि प्रक्रिया अघि नबढेको बताउँनुहुन्छ । कुलपति तथा अब आउने शिक्षामन्त्रीले पहिलो प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला भन्ने अपेक्षा राखिएको ओझाको भनाई छ । आफुहरुको पदस्थापन भइसकेपछि कार्ययोजनाको रुपमा योग्य व्यक्ति छिटो भन्दा छिटो नियुक्तिका लागि अझ सशक्त रुपमा दबाव दिने ओझाले बताउनुभयो ।
त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा अध्यक्ष नहुँदा स्थगित भएका शिक्षक तथा कर्मचारीको परीक्षा रोकिनुका साथै नयाँ विज्ञापनको सबै काम रोकिएको बताउँनुहुन्छ । अध्यक्ष नियुक्तिका लागि कुलपति (प्रधानमन्त्री) लाई पटक– पटक अनुरोध गरेको बास्कोटाको भनाई छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.