उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि रिक्त पदमा उमेदवारी दिन लाग्नुभएका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारमा जुट्नुभएको हो ।
उपनिर्वाचनको लागि निर्वाचन आयोगले भोलि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ ।
पूर्वसभापति श्रेष्ठले चुनाव लक्षित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न थाल्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र चुनाव चिह्न घण्टीप्रति आक्रामक अभिव्यक्ति दिन थाल्नुभएको छ । लामिछाने र घण्टी विरुद्ध बोल्दा आफुमाथि सामाजिक सञ्जालमा गाली गलौज हुन थालेको उहाँको गुनासो छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा पुग्नुभएका श्रेष्ठले ‘कसैको बारेमा बोल्दा हार्दिक श्रद्धाञ्जली लेख्ने कुरामा प्रशासन गम्भिर हुनुपर्ने’ बताउनुभयो । त्यस्तै उहाँले घण्टीप्रति लक्षित गर्दै चुनावी प्रचारमा चुनाव चिह्न बोकेर हिँड्ने कार्यको विरोध गर्नुभयो ।
हिजो शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुभएका लामिछाने आज चितवन आउँदै हुनुहुन्छ । स्थलमार्ग हुँदै चितवन आउन लाग्नुभएका लामिछाने इच्छाकामनाको चुम्लिङटार, कुरिनटार, लेवाटार, केबुलकार, मुग्लिङका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
एमालेबाट उमेदवार बन्न लाग्नुभएका रामप्रसाद न्यौपाने सार्वजनिक कार्यक्रममा खासै देखिनुभएको छैन । मिसन ग्रासरुट अभियान अन्तर्गत हिजो शनिबार आयोजित प्रशिक्षण तथा वनभोज कार्यक्रममा सहभागी हुनुभएका न्यौपानेले चितवन २ मा गल्ति सच्याउने मौका मिलेको बताउनुभयो । लामिछानेले नेपालको कानुनलाई हेप्दा चितवन २ का जनताले दुःख पाएको उहाँले बताउनुभयो ।