दार्चुलाका जनप्रतिनिधिले कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापन पत्र बुझाएका छन् ।
व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
तिङ्कर नाका सञ्चालनको मागका साथै तिङ्कर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्यास गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो ।
दार्चुलाको तिङ्कर नाका भएर सदियौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ । तिङ्कर नाका सञ्चालन नहुँदा दार्चुलाको व्यास क्षेत्रका बसोबास गर्नेहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ ।
तिङ्कर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र समय कम लाग्ने भएकाले तत्काल तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत जनप्रतिनिधिको माग रहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई देखाउँदै चीनले नेपालसँगको अन्य सीमा नाका पनि बन्द गरेको छ । रसुवागढी नाका भने तीन वर्षपछि हिजोदेखि पूर्ण रुपमा खुलेको छ ।
यस्तै, बन्द रहेको तातोपानी नाका पनि अब आउँदो वैशाख १८ गतेदेखि खुलाउने तयारी छ ।