विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकममा पनि ठगी, छ जना पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका तथा बिदामा आउँदा ज्यान गुमाएका नेपालीहरूले प्राप्त गर्ने बीमा रकममा ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुलाई आज शुक्रवार नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका भएका नेपालीहरूले बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केहीमात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका छ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ सहित सर्लाहीको लालबन्दी नगरपालिका–८ का ३४ वर्षीय विनोदकुमार लामा, त्यही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका–२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन् ।

प्रहरीले हिजो दिउँसो काठमाण्डौको गोङ्गबुबाट छ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण कागजात फेला पारी उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतक शवको बीमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताउनुभयो । उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाण्डौमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताउनुभयो । गिरोहका सदस्यहरू विदेशमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.