मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आज मंगलबार दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुले बताएका छन् ।
हिजो सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई हिजो प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो ।
सरकार आफूहरुको समस्या समाधान गर्ने भन्दा दमन गर्न उद्धत भएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशबाहल बताउनुभयो । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उहाँको भनाई छ ।
सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूह चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
सरकारले भने मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गरिसकेकाले सबै समस्या आयोगले समाधान गर्ने भन्दै मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिएर गाउँ फर्किन आग्रह गरेको छ ।