विद्युत् कटौती तालिका सार्वजनिक गर्न माग गर्दै उद्योगीद्वारा प्राधिकरण घेराउ

तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म हुँदै आएको अनियमित विद्युत् कटौतीले उद्योग चौपट भएको भन्दै मोरङ व्यापार संघले आज आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ । विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग गर्दै संघमा आबद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले ग्रिडमा धर्ना दिएका हुन् ।

धर्नाका क्रममा उद्योगीले विद्युत् कटौती तालिका सार्वजनिक गर्, जथाभावी विद्युत् काट्न पाइँदैन, उद्योग मार्न पाइँदैन, कुलमान घिसिङ राजीनामा दे जस्ता नारा लगाएका थिए । उनीहरुले विद्युत् कटौतीको तालिका सार्वजनिक नगरेसम्म घेराउ कार्यक्रम जारी रहने बताएका छन् ।
दैनिक ८ देखि १२ घण्टासम्म सूचनाबिना हुँदै आएको अनियमित विद्युत् आपूर्तिका कारण उद्योगको उत्पादन प्रक्रिया प्राय ठप्प रहेको र औद्योगिक कच्चा पदार्थ खेर जाने तथा मेसिनरी सामान बिग्रिने गरेको संघका अध्यक्ष नविन रिजालले बताउनुभयो । उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य समेत रहनुभएका रिजालका अनुसार लामो समयदेखि बजारमा रहेको मन्दी, बैंकको चर्को ब्याजदरको पीडा झेल्दै आएको औद्योगिक क्षेत्रले पछिल्लो पटक अनियमित विद्युत् आपूर्तिकै कारण उत्पादन लागत समेत बढेको छ । उत्पादित वस्तुको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामै ह्रास आएको, श्रमिक व्यवस्थापनमा समस्या भएपछि कार्यालय घेराउ गर्न बाध्य भएको उहाँको भनाई छ ।

विद्युत् प्राधिकरणले सूचना नदिई दैनिक लामो समय आपूर्ति बन्द गर्दा सुनसरी मोरङ औद्योगिक क्षेत्र प्राभावित भई ६० प्रतिशतसम्म उत्पादन कटौती भएको संघका पूर्वअध्यक्ष पवन सारडाले बताउनुभयो । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा पुसदेखि नै अनियमित विद्युत् आपूर्ति, ट्रिपिलिङ र लोभोल्टेजको समस्या छ । पछिल्लो समय बढेको अनियमित विद्युत् आपूर्तिका कारण अधिकांश उद्योग दैनिक ८ देखि १२ घण्टा बन्द हुने गरेको उद्योगी बताउँछन् । मजदुरको व्यवस्थापनमा समस्या भएको छ भने सञ्चालनमा रहेका उद्योगले पनि ६० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् ।

उद्योगीले प्राधिकरणसँग नयाँ र फरक माग नगरेको भन्दै संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले विद्युत् कटौतीको तालिका दिँदा व्यवस्थापन सहज हुने बताउनुभयो । तालिका भएमा मजदुरलाई उद्योगमा कामका लागि बोलाउन, घर पठाउन, उपकरण सञ्चालनको समय निश्चित गर्न, कच्चा पदार्थको व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ । करिडोरमा साना ठूला पाँचसय उद्योग छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.