रत्ननगर । रत्ननगर स्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई आज शनिबार खाद्यान्न सहयोग गरिएको छ । चितवनको माडी स्थायी घरभई अस्ट्रियामा बस्दै आउनुभएकी माया लामा लोप्चन र उहाँका श्रीमान एल्मरले एक लाख ५० हजार रुपैँया बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारको पहलमा सो सहयोग गरिएको हो ।
खाद्यन्नमा ५० बोरा चामल, तीन बोरा आलु, तीन बोरा प्याज र एक बोरा लसुन सहयोग गरिएको छ । २०७२ सालदेखि भौतिक संरचना निर्माण सहित आवश्यक अन्य सहयोग गर्दै आउनुभएकी माया लामाले पछिल्लो पटक अस्ट्रियामा खाना विक्री बापत संकलन भएको रकमले खाद्यान्न सहयोग गर्नुभएको हो । सीमान्तकृत समुदायको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न उहाँले धन्यवाद नामक संस्था स्थापना गर्नुभएको छ । अस्ट्रियामा विभिन्न गतिविधि गरेर संकलन भएको रकम उहाँले नेपालमा सामाजिक क्षेत्रमा खर्च गर्दै आउनुभएको छ ।
भूकम्पको बेला पनि उहाँले विभिन्न ठाउँमा आर्थिक तथा सामाग्री सहयोग गर्नुभएको थियो । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले विगत आठ बर्ष देखि लामाले सीमान्तकृत चेपाङ समुदायका बालवालिकाको शिक्षा र स्वास्थ्यको लागि सहयोग गर्दै आएको बताउनुभयो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा सामाजिक अभियान्ता नानी नहर्की, केन्द्रका अध्यक्ष केपिकिरण शर्मा, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतको सहभागिता रहेको थियो । केन्द्रमा हाल एकसय ४० जना वालवालिकाहरु आवासीय सुविधा सहित अध्यायन गरिरहेका छन् । साथै उहाँहरुले केन्द्रमा आश्रित बालवालिकाहरुलाई वनभोज समेत खुवाउनुभएको छ ।
गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग