काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासनिक थलो सिंहदरबारको फोहर आज पनि नउठाउने भएको छ ।
मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर उठेको छैन । आज पनि फोहर नउठ्ने महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनुभयो । फोहर कहिलेदेखि उठाउने भन्ने अनिश्चित छ ।
सम्बन्धित पक्षबीच वार्ता र सहमति भए पछि मात्रै फोहर उठ्न सक्ने मानन्धरको भनाई छ । मेयर शाहले अस्ति फेसबुकमा स्टाटस लेख्दै सङ्घीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबारको फोहर नउठाउने घोषणा गर्नुभएको थियो ।
शाहको स्टाटस पछि सिंहदरबारको फोहर उठेन सकेको छैन । महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि सुकुम्बासी समस्या समाधानका लागि असहयोग गरेको भन्दै दबाब दिन महानगरपालिकाले सिंहदरबारको फोहर नउठाएको हो ।
यता मेयर शाहले बाध्य भएर सिंहदरबारको फोहर नउठाएको बताउनुभएको छ । बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उहाँले यो निर्णय कुनै लहडमा नभइ बाध्य भएर गरिएको बताउनु भएको हो । नौ महिनासम्म पटक– पटक प्रयास गरे पनि बेवास्ता गरेको, गैरजिम्मेवारी र लापरबाही गरेको उहाँको आरोप छ । सङ्घीय सरकारसँग पटक–पटक पहल गरेको भए पनि सङ्घीय सरकारले समन्वयकारी भूमिका नखेलेको उल्लेख गर्नुभएको छ ।
अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन, सामुदायिक विद्यालयका शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने, सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, विमानस्थलको नक्सा पास, ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा लगायतका थुप्रै विषय समाधानका लागि पटक पटक सङ्घीय सरकारसँग पहल गरे पनि सिंहदरबारले बेवास्ता गरेको उहाँले बताउनुभएको छ ।